गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले निर्माण गरेको जिपलाइन पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बनेको छ । छत्रकोट-३ स्थित देवालय मन्दिरदेखि भगवती मन्दिरसम्म फैलिएको यो जिपलाइनमा आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्न थालेको छ। जिपलाइनमा चढ्ने धेरैजसोले नजिकैको मन्दिरको समेत अवलोकन गर्ने गरेका छन् ।
‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नीति लिएर छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले गत वर्ष पुस महिनाबाट जिपलाइन सञ्चालनमा ल्याइएको हो । जिपलाइन प्राविधिक तथा नगर प्रहरी दुर्गा कुमालका अनुसार, छत्रकोटसँगै रुरुक्षेत्र, गुल्मी दरबार, रेसुङ्गा, धुर्कोट, मदाने, मालिका लगायतका जिल्लाभित्र र बाहिरका साथै भारतका नागरिकले समेत यसको अनुभव लिइसकेका छन्। “जिपलाइन सडकमै पर्ने भएकाले अवलोकन गर्न पनि सहज छ,” उनले भने, “दैनिक रूपमा पर्यटकहरू चढ्न आउनुहुन्छ ।”
आम्दानी र सुरक्षा:
हालसम्म जिपलाइनमा कुल १ हजार ६ सय ९२ जना पर्यटकले यात्रा गरिसकेका छन् । यसबाट ६ लाख ८१ हजार ४५० रुपैयाँ आम्दानी भएको नगर प्रहरी कुमालले जानकारी दिए । जिपलाइन चढ्नका लागि छत्रकोटबासीलाई ४०० रुपैयाँ, स्वदेशी पर्यटकलाई ५००, विद्यार्थीलाई ३०० र विदेशी पर्यटकलाई १ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । हरेक पर्यटकका लागि १० लाख रुपैयाँको बीमाको व्यवस्था पनि गरिएको छ ।
जिपलाइनको विशेषता र अनुभव:
चोयघा मन्दिर आफैँमा एक पर्यटकीय स्थल हो, जहाँ जिल्लाका धेरै ठाउँबाट मानिसहरू बजभोजका लागि पुग्छन् । यही ठाउँमा जिपलाइन सञ्चालन भएपछि मन्दिरको प्रचारप्रसार बढेको छ भने मन्दिर भ्रमणमा आएका पर्यटकहरू जिपलाइन चढ्न पनि आकर्षित भएका छन्। सडक नजिकै हुनाले पनि यो धेरैको पहुँचमा छ ।
गोरखाबाट आएका पर्यटक भरत सापकोटाले आफ्नो पहिलो जिपलाइन अनुभव सुनाउँदै भने, “सुरुमा धेरै डर लाग्यो, पछि आनन्द आयो। म अरू व्यक्तिहरूलाई पनि जिपलाइन चढ्न सुझाव दिन्छु ।” धुर्कोट गाउँपालिका-५ वस्तुका महेन्द्र भण्डारीले पनि पहिलोपटक जिपलाइनको आनन्द लिए। सुरुमा डर लागे पनि कुनै असहज नभएको उनको भनाइ छ। “मन्दिरकै छेउमै जिपलाइन सञ्चालन गरेर पालिकाले राम्रो काम गरेको छ,” उनले भने, “जिपलाइन नजिकैका पिङ, पार्क, मन्दिर लगायतका संरचनाले यसमा झनै आकर्षण थपेका छन्।” भण्डारीले राम्रा र सुविधासम्पन्न होटल तथा रेस्टुरेन्ट, विभिन्न ठाउँमा लोकेसन लगायतका संरचना बनाउनुपर्ने सुझाव पनि दिए ।
प्राविधिक विवरण र उद्देश्य:
यो जिपलाइनको दुई टावरबीचको दूरी ९६० मिटर छ भने कुल लम्बाइ १ हजार ८० मिटर रहेको छ। दुई टावरबीचको उचाइ ६७ मिटर छ। जिपलाइनमा प्रतिसेकेन्ड १५ देखि २० मिटरको दूरी पार गर्न सकिन्छ, र सुरु स्टेशनदेखि ५५ देखि ७७ सेकेन्डमा यात्रा पूरा हुन्छ। पर्यटकको तौलअनुसार यात्राको समय फरक पर्न सक्छ ।
८६ लाख ७३ हजार १४४ रुपैयाँ लागतमा सानु सेतीदेवी कन्ट्रक्सन प्रालिले यो जिपलाइन निर्माण सम्पन्न गरेको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न जिपलाइन सञ्चालन गरिएको बताए । “दिनानुदिन जिपलाइनप्रतिको आकर्षण बढ्दै गएको छ, पालिकाबासी पनि उत्साहित हुनुहुन्छ,” अध्यक्ष पाण्डेले भने, “हामी अझै व्यवस्थित गर्दैछौँ ।”