आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

आनी छोइङको नियुक्ति कानुनी प्रक्रिया र निर्धारित मापदण्डविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सर्वोच्च अदालतमा रिट दायर गरेको हो । नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि अभियानले प्रश्न उठाएको छ ।

अभियन्ता अजय सोडारीका अनुसार नियुक्तिको विषयमा अभियानले यसअघि पनि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। सरकारले सुनुवाइ नगरेपछि नियुक्तिको कानुनी वैधता परीक्षण र विधिको शासन सुनिश्चित गर्न अदालतको ढोका ढकढक्याउनुपरेको उनले बताए ।

सुनील सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट दायर गरिएको उक्त रिटमा सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको हो ।रिट निवेदकहरूले आनी छोइङ डोल्मा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आवश्यक योग्यता नपुगेको जिकिर गरेका छन् ।

सरकारले गत असोज ३० गते आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। उनले मंसिर २ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेकी थिइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै