काठमाडौँ । भक्तपुरको नगरकोटमा दुई जना मोटरसाइकल चालकमाथि कुटपिट गरेको आरोपमा एक कार चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ४१ वर्षीय गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने तामाङ भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका बासिन्दा हुन् ।
के थियो घटना ?
केही दिनअघि नगरकोट सडक खण्डमा कार चालक तामाङले दुई जना मोटरसाइकल चालकलाई अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियो भाइरल भएपछि ‘सडक अराजकता’ फैलाउनेलाई कारबाही गर्न नागरिक स्तरबाट चर्को दबाब सिर्जना भएको थियो ।
प्रहरीका अनुसार भिडियोकै आधारमा खोजी कार्य गरी तामाङलाई नियन्त्रणमा लिइएको हो। उनीमाथि अभद्र व्यवहार वा कुटपिट सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।