बाह्य द्वन्द्वबाट पाठ सिकेर नेपालले आर्थिक सुरक्षाको रणनीति अपनाउनु पर्छ: वाणिज्यविद् रवि शंकर सैंजु

पश्चिम एसियाको द्वन्द्व: पर्यटन र आपूर्ति व्यवस्थामा गम्भीर असर पर्ने वाणिज्यविद् सैंजुको प्रक्षेपण

काठमाडौँ । वाणिज्यविद् रवि शंकर सैंजुले विश्वको एक कुनामा हुने द्वन्द्वले नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशलाई प्रत्यक्ष प्रभाव पार्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मंगलबार आयोजना गरेको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बताएका हुन् ।

सैंजुले अर्को देशमा घटेका घटनाले आफ्नो अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने कुरालाई गम्भीरतापूर्वक बुझ्नुपर्नेमा जोड दिए। “अर्को देशको घटनाबाट हाम्रो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,” उनले भने ।

पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रहार

द्वन्द्वले हवाई यातायातमा अवरोध पुर्‍याउने भएकाले नेपालको पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित हुने उनको विश्लेषण छ। हाल विभिन्न देशका विमानस्थलहरूमा पर्यटकहरू रोकिनुपर्ने स्थिति सिर्जना भएको छ । पर्यटकले सधैँ आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिने भएकाले युद्ध र तनावका बेला नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आउने देखिएको छ।

आपूर्ति व्यवस्था र रणनीति

पश्चिम एसियाको तनावले इन्धनको मूल्य र आपूर्ति शृङ्खला (Supply Chain) मा पार्ने प्रभावले नेपालमा महँगी बढ्न सक्ने तर्फ पनि उनले संकेत गरे । यस्तो अवस्थामा सरकारले वैकल्पिक आपूर्ति मार्ग र आन्तरिक उत्पादनलाई मजबुत बनाउने रणनीति लिनुपर्ने सुझाव उनको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै