बानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारी (नासु) को मृत्यु

सिभिल अस्पताल अगाडि दुर्घटना, फोहोर बोक्ने टिपर र चालक प्रहरी नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पताल अगाडि आज बिहान भएको सडक दुर्घटनामा एक सरकारी कर्मचारीको मृत्यु भएको छ । फोहोर बोक्ने टिपरले स्कुटरलाई ठक्कर दिँदा निजामती सेवाका नायब सुब्बा ४८ वर्षीय बद्रि कोइरालाको ज्यान गएको हो ।

सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका कोइराला आज बिहान ८:४५ बजे प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार थिए । सोही क्रममा बा २ क ३२२९ नम्बरको टिपरले उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका कोइरालालाई तत्कालै सडक छेउमै रहेको सिभिल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएको १० मिनेटमै (बिहान ८:५५ बजे) चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । कार्यालय समयमा भएको यस दुर्घटनाले बानेश्वर क्षेत्रको ट्राफिक केही समय प्रभावित भएको थियो । मृतक कोइराला लामो समयदेखि निजामती सेवामा कार्यरत थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै