काठमाडौँ । सोमबार राति धादिङमा भएको बस दुर्घटनामा परेर गाडीधनी र बसका चालकको पनि मृत्यु भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार दुर्घटनामा ज्यान गुमाउने तनहुँको व्यास गाउँपालिका-४ का ४० वर्षीय ओम कुमार मल्ल गाडीधनी हुन् ।
त्यसैगरि दुर्घटनामा परेको बसका चालक कास्कीको पोखरा महानगरपालिका-१९ का २६ को सुजित नेपालीको पनि दुर्घटनामा मृत्यु भएको छ । ‘दुर्घटनामा ज्यान गुमाउने गाडीधनी ओमकुमार मल्लकी पत्नी घाइते हुनुहुन्छ,’ डीएसपी मल्लले भने, ‘उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’
सोमबार राति पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको बस राति साढे १ बजे धादिङको बेनिघाट रोराङ ५ भैसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको थियो भने २६ जना घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।