काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन् । मंगलबार उम्मेदवारी घोषणा गर्दै वर्तमान वस्तुगत उपाध्यक्ष ढकालले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको मनोबल उच्च राख्न आफू मैदानमा उत्रिएको बताए ।
आफ्नो उम्मेदवारीका मुख्य प्राथमिकता र प्रतिबद्धताहरू उनले यसरी प्रस्तुत गरे:
उत्पादनमुखी अर्थतन्त्र: स्वदेशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्न उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने ।
नीतिगत पैरवी: सरकारसँग रोकिएर बसेका व्यवसायमैत्री कानुनहरू पारित गराउन र कर सुधारका क्षेत्रमा थप काम गर्ने।
लगानीमैत्री वातावरण: राजनीतिक अस्थिरताका कारण व्यवसायीमा उब्जिएको त्रास हटाउँदै लगानीको सुरक्षित वातावरण निर्माण गर्ने ।
समस्या समाधान: “निजी क्षेत्रका समस्या समाधान नै मेरो मुख्य दायित्व हो,” ढकालले भने, “आवश्यक परे व्यवसायीका हकहितका लागि सरकारी निकायका ढोका ढकढकाउन पछि पर्ने छैनौं ।”
उनले आफ्नो कार्यकालमा प्रतिकूल परिस्थितिका बाबजुद नीतिगत स्थिरता र कानुन संशोधनमा उल्लेख्य भूमिका खेलेको दाबी समेत गरे । महासंघभित्र सबै तह र क्षेत्रलाई जोड्ने समावेशी संरचना निर्माण गर्ने योजना पनि ढकालले अघि सारेका छन् ।