तातोपानी नाकामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

सिन्धुपाल्चोक । नेपाल-चीन सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

कोदारी राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिकाको दशकिलोमा बा.प. १-०३० च ३४८० नम्बरको बोलेरो पार्किङमा राखिएको कन्टेनरको टेलरसँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बाह्रबिसे नगरपालिका-२ दुरुम्थलीका सुजन तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काले बताए ।

‘राति दुर्घटना भएको भन्ने खबर प्राप्त भएपछि हामी घटनास्थल पुगेका थियौं’, खड्काले भने- ‘घटना कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार बोलेरोमा सवार ७ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् । घाइते सबैलाई उद्धार गरी उपचारका लागि खाडीचौरस्थित सिन्धु सदावहार अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

स्थानीय ईश्वरलाल श्रेष्ठका अनुसार लिपिङदेखि लार्चासम्मको सडक भर अव्यवस्थित पार्किङ गरिराखेको कन्टेनरहरुकै कारण दुर्घटना भएको हो । ‘कहिँकतै ईमर्जेन्सी गाडीमा साइट दिनुपर्ने र रोक्नुपर्ने अवस्था आयो भने दुर्घटना हुने उच्च जोखिम छ’, उनले भने- ‘अव्यवस्थित पार्किङ गरेर राखिएको कन्टेनरहरू तुरुन्तै नहटाउने हो भने यो भन्दा ठूलो दुर्घटना हुने देखिन्छ ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै