काठमाडौँ । सिंहदरबार आगजनी गरेको आरोपमा पक्राउ परेका एकजना आरोपीमाथि अनुसन्धानका लागि अदालतले पाँच दिन थुन्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै अन्तर्वार्ता दिएको आरोपमा पक्राउ परेका चितवन खैरहनी नगरपालिका–९ का महेन्द्र गौतमलाई अनुसन्धानका लागि पाँच दिन थुन्न अनुमति दिएको हो ।
गौतम ‘सिंहदरबारको गेट तोडेर भित्र पसी गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौँ,’ भन्दै दिएको अभिव्यक्तिका कारण बुधबार (माघ २१) पक्राउ परेका थिए ।
उनीविरुद्ध ‘आपराधिक उपद्रव कसुर’को आरोप लगाइएको छ । “प्रहरीको माग अनुरुप अदालतबाट पहिलोपटकका लागि आपराधिक उपद्रव कसुरअन्तर्गत पाँच दिन थुनामा राख्न बिहीबार (माघ २२) मा अनुमति प्रदान भएको छ,” काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले भने ।