मौसम पूर्वानुमानः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बादल लागेको छ। ती क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम खालको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बाँकी हिमाली भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै