जबर्जस्ती करणीबाट गर्भवती भएकी २५ वर्षीया महिलाको माग पूरा गर्न मन्त्री श्रद्धा श्रेष्ठको पहल

काठमाडौँ । जबर्जस्ती करणीबाट गर्भवती भएकी सुर्खेतकी २५ वर्षीया महिलालाई न्याय दिलाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पहल थालेकी छिन् ।

न्याय माग्दै सुर्खेतबाट काठमाडौँ आएर मंसिर २५ देखि २७ गतेसम्म माइतीघरमा अनशन बसेकी सुर्खेतकी २५ वर्षीया महिलालाई न्यायको लागि सघाउन मन्त्री श्रेष्ठले सरोकारवालासँग छलफल गर्दै पहल थालेकी हुन् ।

मन्त्रालयमा सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी, महिला आयोगकी अध्यक्षसहित पीडित महिलासँग छलफल गर्दै मन्त्री श्रेष्ठले उनको न्यायको लडाईँमा साथ दिने प्रतिबद्धता जनाएकी छिन् ।  मंगलबार पनि मन्त्री श्रेष्ठले ती महिलाको मागलाई सम्बोधन गर्न न्यायिक प्रक्रियामा जान विभिन्न सरोकारवालासँग छलफल गरेकी छिन् ।

सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले पीडित महिलालाई मन्त्रालयकै सेल्टरमा बस्न आग्रह गरेकी थिइन् । साथै, मन्त्री श्रेष्ठले पीडित महिला गर्भवती रहेकाले उनको स्वास्थ्य उपचार र भरणपोषषको सुनिश्चितताको जिम्मेवारी लिने पनि जानकारी दिइन् । उनले बच्चा जन्मिएपछिको भरणपोषण र पीडित महिलाको रोजगारीको लागि पनि प्रतिबद्धता जनाएकी छिन् ।

सुर्खेतकी २५ वर्षीया महिला आफूलाई पूर्व प्रहरी जवान दार्चुलाका भूपेन्द्र ठगुन्नाले बलात्कार गरेको र बलात्कारपछि आफु गर्भवती भएको भन्दै न्याय माग्न काठमाडौँ आएकी हुन् । काठमाडौँ आएर माइतीघर मण्डलामा अनशन बसेकी उनको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि अहिले थापाथलीस्थित प्रसुति गृहमा उपचारको लागि राखिएको छ ।

यसअघि पनि सोही व्यक्तिले बलात्कार गरेको भन्दै कानूनी प्रक्रियामा गएको भए पनि अदालतबाट दोषीले दुई पटक सफाई पाएको उनको दाबी छ । अदालतबाट सफाई पाएपछि उक्त व्यक्तिले जेठ १ २०८२ को राति आफूलाई पुनः जबरजस्ती करणी गरी गर्भ बसाएको भन्दै न्याय माग्न उनी मंसिर तेस्रो साता काठमाडौँ आएकी हुन् ।

मन्त्री श्रेष्ठले पीडित महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल गर्न र आवश्यक औषओउपचार गर्न सरोकारवालालाई निर्देशन र समन्वय गरिरहेकी छिन् । पीडित महिलाको न्यायिक लडाईँमा सघाउन मन्त्री श्रेष्ठले विभिन्न सरोकारवालासँग छलफलाई प्राथमिकतामा राखेकी हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै