काठमाडौँ । काठमाडौँको गैरीगाउँस्थित एक काठ गोदाममा आज भीषण आगलागी भएको छ। आगलागीका कारण त्यस क्षेत्रमा निकैबेर त्रास फैलिएको थियो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवन भट्टराईका अनुसार गैरीगाउँमा रहेको काठको गोदाममा अचानक आगो सल्किएको हो। आगलागीको कारण र क्षतिको विवरण भने अझै खुल्न सकेको छैन। “आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ,” एसपी भट्टराईले जानकारी दिए।
काठको गोदाम भएकाले आगोले उग्र रूप लिएको र आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको थियो। आगलागी लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगरपालिकाको दमकल टोली घटनास्थल पुगेका छन्।
अहिले सुरक्षाकर्मी र स्थानीयको सहयोगमा दमकलको सहायताले आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको छ। थप क्षति हुन नदिन आसपासका क्षेत्रमा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।