टिपरको ठक्करबाट काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका वडा नम्बर  १६ बालाजु बाइसधारास्थित सडक खण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची घर भई हाल काठमाडौं बसुन्धरा बस्ने अन्दाजी २१ वर्षीय सागर खड्का रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘बालाजुदेखि वाइपासतर्फ गइरहेको बाप्र०१-००६ ख ३४५४ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको लु ५९ प ७०६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ ।’

त्यसैगरी, उक्त दुर्घटनामा परी अर्घाखाँची घर भई हाल काठमाडौं बालाजु हाइट बस्ने २२ वर्षीय लक्ष्मण राउत गम्भीर घाइते भएको र उनको टाउको, दाहिने हात र शरीरका विभिन्न भागमा चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको त्रिवि शिक्षण अस्पताल महारगञ्जमा उपचार भइरहेको तथा मृतक र घाइते दुवै जना मोटरसाइकलमा सवार रहेको खुल्नमा आएको प्रवक्ता सुवेदीले बताए ।

अहिले दुर्घटनामा परी क्षति भएको मोटरसाइकल प्रहरी बृत्त बालाजु र ठक्कर दिने टिपर प्रहरी पहरा गण सामाखुसीको नियन्त्रणमा रहेको तथा टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै