
काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका-४ र १ को सीमामा रहेको ४५ वर्ष पुरानो पुल भाँचिएपछि सो सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
अरनिको राजमार्गको साँगा-धुलिखेल सडकको विकल्पको रूपमा प्रयोग हुँदै आएको यो पुल भाँचिएसँगै बनेपा, नाला हुँदै काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरू जाममा परेका छन्। स्थानीयहरू पनि जोखिम मोलेरै आवतजावत गर्न बाध्य भएका छन्।
पुल गएराति भाँचिएको हो, जसले गर्दा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड अन्तर्गत पर्ने यो मार्ग पूर्वबाट काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार पुल २०३७ सालमा निर्माण भएको थियो।
पुल भाँचिएपछि काठमाडौँ आउने-जाने गाडीहरूलाई रोक लगाइएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि धेरैजसो गाडीले यही नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आएका थिए ।
जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट यो सडकखण्डमा गाडी नपठाउन भनिएको र बनेपाबाट काठमाडौँतर्फ लाग्ने गाडीलाई बनेपामै रोकिएको जानकारी दिएको छ। प्रहरीका अनुसार पुल भाँचिएपछि सडकखण्डलाई कसरी अस्थायी रूपमा सञ्चालन गर्न सकिन्छ भनेर सडक विभाग र पालिकासँग समन्वय भइरहेको छ ।
अहिले स्काभेटर ल्याएर भाँचिएको पुलको संरचना हटाइँदैछ ।