
काठमाडौँ । भक्तपुरको इँटा भट्टामा अभिभावकसँग बसेर सामुदायिक विद्यालयबाट एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठले पूर्ण छात्रवृत्ति पाएकी छिन् । उनलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गरेका हुन् ।
राष्ट्रिय समाचार समिति (रासस)मार्फत विभिन्न सञ्चार माध्यममा गंगाको बारेमा समाचार प्रकाशित भएपछि सांसद थापाले चासो व्यक्त गर्दै उनलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन् ।
सांसद थापाले रासससँग प्रतिक्रिया दिँदै भने, “गोमाले चाहेको अवस्थामा उनलाई कक्षा ११ र १२ मा विद्यालयको शुल्क मात्र होइन पोसाक र किताबसमेत निःशुल्क दिने घोषणा गर्दछु ।” सांसद थापाले गोमालाई भेटेर यसबारेमा कुराकानी गर्ने बताए ।
रामेछापको खनियापानी स्थायी घरभएकी गोमा चार वर्षको उमेरदेखि भक्तपुरको इँटा भट्टामा अभिभावकसँग बसेर चाँगुनारायण नगरपालिका ८ सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आइरहेका थिए । उनी एसइई परीक्षा २०८१ मा ४ जिपिएसहित उत्तीर्ण भएकी हुन् ।
गोमाको चाहना भविष्यमा डाक्टर बन्ने रहेको छ । त्यसका लागि उनी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भई पठनपाठन गर्ने तयारीमा छिन् ।
गोमालाई सांसद थापाले नासा कलेजमा छात्रवृत्ति दिने घोषणा गरेका हुन् । उनले गोमालाई कक्षा १२ पछि पनि डाक्टर बन्न थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘गोमा जस्तो लगनशील र मेहिनती छात्रालाई सहयोग गर्न पाउनु नै ठूलो कुरा हो,’ सांसद थापाले भने, ‘उनको जुन परिस्थितीमा सामुदायिक विद्यालयमा अध्ययन गरेर ४ जिपिए ल्याउनुभयो, त्यो अरु विद्यार्थीहरू विशेष गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि प्रेरणाको स्रोत हो ।’