एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले नतिजा प्रकाशनको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्।

भट्टराईका अनुसार, उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर प्राप्तांक इन्ट्री गर्ने काम भइरहेको छ। उनले भने, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी समयतालिका बनाएका हौँ, कर्मचारीहरू डबल सिफ्टमा काम गरिरहेका छन्।”

अहिले नम्बर इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ। “काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ,” उनले थपे।

यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनेको थियो। तर, २०८१ चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा गरेको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो।

गत २०८१ चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै