
काठमाडौँ । देशभर सञ्चालनमा रहेका धेरैजसो एम्बुलेन्स हालसम्म पनि अनुमति नलिई सञ्चालन भैरहेको पाइएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति लिएर मात्र सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईअन्तर्गतको राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको २०८२ जेठ ३० गते बसेको बैठकले अब अनुमति बिना सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई अनिवार्य सञ्चालन अनुमति लिन निर्देश दिएको हो ।
‘अबदेखि एम्बुलेन्स सेवा प्रदान गर्न चाहेमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति सँग समन्वयमा रही सेवा दिनुपर्नेछ। साथै, सेवा दिने क्रममा सम्पूर्ण मापदण्डहरू पालना गरेको हुनुपर्नेछ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
अनुमति प्राप्त गर्नका लागि जीपीएस प्रणाली जडान गरिएको हुनु पर्ने, प्रेषण केन्द्र प्रणालीमा अनिवार्य आबद्धता, राजश्व छुट लिएको जिल्लामै सेवा दिइरहेको हुनु पर्ने र फोरह्विल सवारी हुनु पर्ने मापदण्ड रहेका छन् ।
त्यसैगरी निर्देशिकाअनुसार वर्ग, रङ, उपकरण तथा चालकको तालिम पूरा भएको हुनु पर्ने र राजश्व छुटको सिफारिस गर्दा पनि राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १३ (ञ) बमोजिम प्रदेश सिफारिस पत्रमा यसअगाडि छुट लिएको/नलिएको स्पष्ट खुलाउनुपर्ने उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले सबै एम्बुलेन्स सञ्चालक, सम्बन्धित निकाय तथा सेवा प्रदायकहरूलाई यथाशीघ्र आवश्यक अनुमति लिई कानुनी रूपमा सेवा संचालन गर्न अनुरोधसमेत गरेको छ ।