
विराटनगर । चेक अनादर मुद्दामा कैद सजाय पाएका एक प्रतिवादी मोरङ जिल्ला अदालत परिसरबाटै फरार भएका छन्। फरार हुनेमा विराटनगर–१३ का ४० वर्षीय विजय शंकर झा रहेका छन्।
झालाई अदालतले दुई वर्ष कैद सजाय तोकेको थियो। सो सजाय कार्यान्वयनका लागि प्रहरीले झालाई आइतबार सुनसरीको दुहबीबाट पक्राउ गरी विराटनगर ल्याएको थियो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार झालाई मोरङ जिल्ला अदालतमा बुझाउने क्रममा उनले शौचालय जाने बहाना बनाएका थिए। सोही बहानामा प्रहरीलाई छल्दै उनी अदालत परिसरबाट भागेका हुन्।
प्रहरीका अनुसार, चेक अनादरसम्बन्धी मुद्दामा सजाय पाएका झा यसअघि पनि फरार थिए। अदालतको आदेशपछि खोजी गरी पक्राउ गरिएका उनी अदालतमा बुझाउने क्रममा पुनः फरार भएका हुन्।
डीएसपी चुडालले झाको खोजी कार्य तीव्र पारिएको र उनको सम्भावित बसोबास स्थानमा निगरानी बढाइएको जानकारी दिए ।