
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसका कारण आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम बुलेटिनअनुसार, दिउँसो देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि बुलेटिनमा उल्लेख छ।
रातिको मौसम पूर्वानुमान
महाशाखाका अनुसार, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसका साथै, राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा र एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।
नदीहरूमा बहाव बढ्यो, तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाका नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मध्यरात भएको बर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।
विशेषगरी बाग्मती नदी (गौरीघाट) र धोवीखोला (चाबहिल) क्षेत्रमा पानीले सतर्कता तह नाघेको विभागले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
त्यसैगरी गोरखामा पनि भारी वर्षा भएकाले सावधानी अपनाउन विभागले सूचना मार्फत अनुरोध गरेको छ । मध्यरात भएको भारी बर्षाका कारण काठमाडौँका विभिन्न स्थानका सडक समेत जलमग्न भएका थिए ।