
चितवन । चितवनमा शनिबार बिहान भएको बस र माइक्रोबसको भिषण दुर्घटनामा मृत्यु भएका सात जनामध्ये ६ जनाको सनाखत भएको छ। राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किँदा यो दुःखद घटना भएको हो।
दुर्घटनामा पाँच महिला (एक गर्भवतीसहित) र दुई पुरुषको मृत्यु भएको चितवनका डीएसपी रवीन्द्र खनालले जानकारी दिएका छन्।
एकै परिवारका तीनको मृत्यु
मृत्यु हुनेमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–५ का एकै परिवारका तीन जना छन्। जसमा ५३ वर्षीया मैँयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र २७ वर्षीया गर्भवती बुहारी रेनुका कँडेल रहेका छन्।
अन्य मृतकको विवरण
सनाखत भएका अन्य मृतकहरूमा मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सिता कुमारी र माइक्रोबस चालक मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० का राजु थिङ छन् ।
एक महिलाको भने अझै सनाखत हुन सकेको छैन। उनको शव जिल्ला अस्पताल भरतपुरमा राखिएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको भरतपुरस्थित एलाइभ हस्पिटल, नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।