बाढीले बस बगायो, प्रहरीको सक्रियतामा ३८ यात्रुको सकुशल उद्धार

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा ३८ जना यात्रुको सकुशल उद्धार गरिएको छ।

काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गएराति आएको आकस्मिक बाढीले बगाएको हो। घटनास्थल विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोला रहेको छ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार, बस नयाँ डाइभर्सनमार्फत खोला पार गर्दै गर्दा एक्कासी आएको बाढीले बसलाई बगाएको थियो।

एक्साभेटर प्रयोग गरी तत्काल उद्धार

“नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो,” तिमिल्सेनाले भने, “हामीले तत्काल एक्साभेटरको सहायतामा सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ।”

घटनास्थलमा प्रहरीको शीघ्र प्रतिक्रिया, समन्वय र मेसिन प्रयोगका कारण गम्भीर दुर्घटना हुन नपाएको जनाइएको छ। बसमा सवार यात्रुहरूको अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै