
काठमाडौँ । पत्रकार दिलभूषण पाठक अदालत पुगेका छन् । आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध पाठक आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । उक्त रिटमा आज पेसी तोकिएको उच्च अदालत पाटनको वेबसाइटमा उल्लेख छ ।
पत्रकार पाठकले दिएको निवेदनबारे न्यायाधीश ऋषिराज भण्डारीको इजलासले सुनुवाइ गर्ने तय भएको छ । पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
पाठकले हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए । ‘टफ टक’ नामक युट्युब च्यानलमार्फत झन्डै चार साता अघि पाठकले उक्त भिडिओ सार्वजनिक गरेका थिए ।
त्यसविरूद्ध उजुरी परेपछि ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला अदालतले कार्यक्षेत्रबाहिर गएर पक्राउ पुर्जी जारी भएको भन्दै विरोध पनि भएको थियो ।