
पाँचथर । पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा गम्भीर घाइते भएका बाराको सिमराका तीन मजदुरको उपचारको क्रममा मृत्यु भएको छ ।
शनिबार मेची राजमार्गअन्तर्गत पर्ने फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल निर्माणको क्रममा ६ जना मजदुर घाइते भएका थिए। घाइतेमध्ये २२ वर्षीय रूपलाल चौधरी, प्रकाश चौधरी र २७ वर्षीय राजन चौधरीको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
घाइते अन्य दुईको अवस्था गम्भीर
घटनामा घाइते भएका अन्य दुई मजदुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि शनिबार राति नै सबै घाइतेलाई नोबेल अस्पताल, विराटनगर पठाइएको थियो।
तीनपटक बगाइएको पुल, फेरि पनि जोखिममा
हेवा खोलामा निर्माण भइरहेको बेलिब्रिज सडक डिभिजन कार्यालय, इलामको जिम्मामा रहेको हो। यस स्थानमा २०८० सालको असारमा आएको बाढीले पुल बगाएपछि बेलिब्रिज राखिएको थियो । तर, २०८१ असोजमा पुनः आएको बाढीले बेलिब्रिज बगाएपछि अहिले ह्युम पाइपको अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको छ ।
वर्षाको समयमा खोला बढ्नेबित्तिकै डाइभर्सन पनि डुब्ने भएकाले ताप्लेजुङसहित पाँचथरका विभिन्न गाउँपालिका राष्ट्रिय सडक सञ्जालबाट विच्छेद हुने जोखिम बढेको छ ।