
काठमाडौँ । देशका अधिकांश भागमा जारी वर्षासँगै तापक्रममा क्रमशः गिरावट आएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो दुई दिन पूर्वी क्षेत्रमा बढी वर्षा भएकाले त्यहाँ तापक्रम उल्लेखनीय रूपमा घटेको छ । पश्चिमी भागमा भने अझै केही तातो महसुस भए पनि तापक्रम घट्ने क्रम जारी रहनेछ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पूर्वी नेपालमा तापक्रममा स्पष्ट गिरावट आइसकेको छ भने पश्चिमी क्षेत्रमा पनि बिस्तारै तापक्रम घट्दै जान थालेको छ। “पूर्वको तुलनामा पश्चिम अझै तातो छ, तर क्रमशः सुधार हुँदैछ,” उनले भने।
पछिल्ला केही घण्टामा काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुर जिल्लामा वर्षा भएको छ। यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने महाशाखाले जनाएको छ।
यसकारण आगामी दुई दिन तापक्रम झनै घट्ने सम्भावना छ। यद्यपि, देशभर एकसाथ र व्यापक रूपमा वर्षा गराउने प्रणाली भने नरहेको मौसमविद्हरूको भनाइ छ। दिउँसोको समयमा भने अझै गर्मी महसुस हुने उल्लेख गरिएको छ।
बुधबार साँझ जारी सूचनामा महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तीन घण्टादेखि मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम र कतिपय ठाउँमा भारी वर्षा मापन गरिएको जनाएको छ। सो प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गएकाले अन्य क्षेत्रहरूमा पनि चट्याङसहितको वर्षा सम्भावना रहेको उल्लेख गरिएको छ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा भएको र बाँकी भागहरूमा बदलीको क्रम बढ्दै वर्षा हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।