
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आगामी विश्व स्वास्थ्य संगठनमा नेपालका तर्फबाट प्रस्ताव गरिएको श्रमिकको स्वास्थ्य रक्षाका मुद्दालाई प्रभावकारी बनाउन विश्व स्वास्थ्य संगठनसँग सम्वाद बढाएका छन् ।
संगठनको कार्यकारी समिति सदस्य समेत रहेको नेपालले यस मुद्दा आगामी महासभामा लैजान गृहकार्य गरिरहेको छ । यसै सन्दर्भमा थाइल्याण्डको बैंककस्थित राष्ट्रसंघीय सम्मेलन केन्द्रमा मन्त्री पौडेलले संगठनकी दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदसँग नेपालको एजेण्डाको तयारी र यसमा जुटाउन सकिने विश्व समर्थनबारे कुरा गरे ।
हाम्रा धेरै श्रमिक अहिले रोजगारीका क्रममा बाहिर छन् । उनीहरुको स्वास्थ्य समस्या हाम्रा लागि चिन्ताको विषय बनेको छ, उनले भने, सबै श्रमिक देशका साझा समस्यालाई सम्बोधन गर्न पर्याप्त गृहकार्य आवश्यक छ ।
जवाफमा निर्देशक वाजेदले नेपालको एजेण्डामा समर्थन जुट्ने विश्वास गर्दै आफ्ना तर्फबाट समन्वयात्मक पहल हुने प्रतिबद्धता जनाइन् ।
हालै सम्पन्न विश्व स्वास्थ्य संगठनको महासभामापछि नेपालले आगामी महासभामा नेपाली श्रमिकले भोगिरहेको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै श्रमिकको स्वास्थ्यको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव पठाएको थियो । जसलाई आगामी महासभामा नेपालका तर्फबाट पेश गरिनेछ ।
मन्त्री पौडेलले हालै मात्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विदेशबाट फर्किएका श्रमिकको निःशुल्क परीक्षण तथा नियमित भर्चुअल स्वास्थ्य सेवा दिन गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ ।
राष्ट्रसंघीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।
थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गरेका मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको बताए । नागरिक परिचय पत्रमा जनसंख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्यांक लिन नेपालले काम गरिरहेको उनले बताए ।
मन्त्री पौडेलले भने, ‘एकीकृत तथ्यांक अभावमा नीति निर्माणमा देखिएको समस्या अब व्यवस्थित हुने अपेक्षा गरेका छौं । हामीले डिजिटल स्वास्थ्य सुधारमा अन्तरमन्त्रालयस्तरीय सहकार्य अझ व्यापक पार्नेछौं ।’
मन्त्री पौडेलले सम्मेलनका क्रममा राष्ट्रसंघका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्ताका क्रममा मन्त्री पौडेलले डिजिटल प्रणाली रुपान्तरणमा प्राविधिक कठिनाइ समेत हुने भएकाले संस्थाबाट सहकार्य अपेक्षा गरिएको बताए ।
उनले घटना दर्ता समावेसी र प्रभावकारी बनाउने कार्यमा नेपालले द्रुत लक्ष्य राखेर काम गरेको बताए । मन्त्री पौडेलले क्षेत्रीय गोलमेच बैठकमा समेत सम्बोधन गरेका थिए ।
सम्मेलनमा नेपालका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सहभागी सह सचिव ढुण्डीराज निरौलाले नेपालका तर्फबाट भैरहेका प्रयासमा एसिया प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले थप काम गर्ने होसला मिलेको बताए । उनले जनसंख्या नीति चाँडै ल्याउने गरी मन्त्रालयले काम अघि बढाइरहेको भन्दै यसमा डिजिटल प्रणालीले विशेष भूमिका खेल्ने बताए ।