‘जेरी अन टप’ को सुरुवाती व्यवसाय उत्कृष्ट: तीन दिनमा २ करोड २२ लाखको कलेक्सन

काठमाडौँ । तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको राम्रो साथ पाएको छ । चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’ का अनुसार चलचित्रले प्रदर्शनको तीन दिनमा कुल रु दुई करोड २२ लाख ८१ हजार ६९८ रुपैयाँको व्यापार गरेको छ ।

अभिनेता अनमोल केसीका अनुसार चलचित्रले तीन दिनमा गरेको व्यापारको दैनिक विवरण यस्तो छ:-

पहिलो दिन (असोज ३१): रु ७२ लाख ५९ हजार ४०८ रुपैयाँ

दोस्रो दिन: रु ८६ लाख ३८ हजार २१० रुपैयाँ

तेस्रो दिन: रु ६३ लाख ८४ हजार ८० रुपैयाँ

हलहरूमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका अभिनेता केसीले झन्डै डेढ वर्ष लगाएर तयार पारिएको चलचित्रले दर्शकको अपेक्षा पूरा गर्दा मेहनतको फल प्राप्त भएको प्रतिक्रिया दिए।

“मैले एउटा चलचित्रमा काम सुरू गरेदेखि प्रदर्शन नहुँदासम्म अन्य काम गर्दिनँ। हामीले जुन सोच र मेहनतका साथ चलचित्रमा समय दिएर निर्माण गरेका थियौँ, त्यो आज सफल भएको आभाष भएको छ,” उनले भने ।

उनका अनुसार चलचित्रलाई तीन दिनमा ६० हजार बढी दर्शकले हेरेका छन्। चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् ।

सरोज न्यौपानेद्वारा प्रस्तुत उक्त चलचित्रलाई सुयोग गुरूङले निर्देशन गरेका हुन्। निर्देशक हेमराज विसीको कथा, विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीले छायाङ्कन गरेको यस चलचित्रको वितरकको रूपमा रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनी रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै