
काठमाडौँ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ ।
नोबेल पुरस्कार समितिले ७१ वर्षीय क्राज्नाहोर्काइको ‘प्रभावशाली र दूरदर्शी कृतिले प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने’ भन्दै उनलाई यो सम्मान प्रदान गरेको जनाएको छ । उनले पुरस्कारस्वरूप १ करोड १० लाख स्वीडिश क्रोनर नगद र पदक पाउनेछन् ।
क्राज्नाहोर्काइको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो शहर ग्युलामा भएको थियो । उनका कैयौं कृति हङ्गेरियन भाषामा प्रकाशित छन् भने उनका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश लगायत अन्य भाषामा पनि छापिएका छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन् र सन् २०१५ को म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कारसहित अन्य धेरै पुरस्कारहरू प्राप्त गरिसकेका छन् ।
यसअघि नोबेल पुरस्कार समितिले रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फका विजेताहरूको नाम घोषणा गरिसकेको छ । अब भोलि शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फका विजेताहरूको नाम घोषणा हुने कार्यक्रम छ ।