
काठमाडौँ । चलचित्र विकास बोर्डले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा नेपालमा सबैभन्दा बढी व्यापार गर्ने फिल्महरूको सूची सार्वजनिक गरेको छ ।
यस सूचीमा अहिलेका चर्चित नायक अनमोल केसीका कुनै पनि फिल्म अटाउन सकेनन्। जबकि, उनका प्रतिस्पर्धी मानिने नायक प्रदीप खड्काका दुई फिल्म भने यो सूचीमा परेका छन् ।
सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा अनमोलका फिल्म नअटाउनुको कारण
सर्वाधिक कमाउने फिल्मको सूचीको अन्तिममा ‘पशुपतिप्रसाद: भष्मे डन २’ रहेको छ, जसले ७ करोड ३२ लाखभन्दा बढी व्यापार गरेको छ । यसको अर्थ, एकै फिल्ममा ५० लाख पारिश्रमिक लिने अनमोल केसीका फिल्महरूले बोर्डको आँकडाअनुसार उक्त रकमभन्दा कम व्यापार गरेको बुझ्न सकिन्छ ।
उता, प्रदीप खड्काका दुई फिल्म ‘प्रेम गीत ३’ र ‘पुजार सार्की’ यो सूचीमा अटाएका छन् । ‘प्रेम गीत ३’ ले ७ करोड ६३ लाख र ‘पुजार सार्की’ ले ७ करोड ३८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेका छन् । प्रदीप र अनमोल दुबै नेपाली सिनेमा क्षेत्रका स्टार नायक मानिन्छन् र उनीहरू दुबै महँगो पारिश्रमिक बुझ्ने कलाकारका रूपमा चिनिन्छन्, जसले गर्दा उनीहरूलाई एकअर्काका प्रतिस्पर्धी मानिन्छ ।
रियल टाइम बक्स अफिस एपको उद्घाटन
सोमबार चलचित्र विकास बोर्डको २५ औँ वार्षिक उत्सव कार्यक्रमकै अवसरमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले रियल टाइम बक्स अफिस एपको उद्घाटन गरेका छन् । उनले बोर्डबाट प्रदान गरिने ३३ सेवा अनलाइनबाट दिइने घोषणा गर्दै यसको सुरुआत पनि गरे ।
यो एप, जसको नाम बक्स अफिस@ सिनेमा राखिएको छ, यसमा नेपालभरका १६६ सिनेमा हलको शो सङ्ख्या र विवरण हेर्न सकिनेछ।
नेपाली चलचित्र ‘आमा’को पोस्टर अब हुलाक टिकटमा
यसै अवसरमा, नेपाली चलचित्र उद्योगको इतिहासमा अर्को महत्त्वपूर्ण घटना भएको छ । वि.सं. २०२१ असोजमा प्रदर्शन भएको नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर अब हुलाक टिकटमा अंकित गरिएको छ । यो घोषणा सोमबार चलचित्र विकास बोर्डले २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा गरिएको हो ।
हिरासिंह खत्रीले निर्देशन गरेको ‘आमा’ चलचित्रमा शिवशंकर खत्री र भुवन चन्दले मुख्य भूमिका निर्वाह गरेका थिए, र यस चलचित्रबाट नै नेपाली चलचित्र उद्योगको सुरुवात भएको मानिन्छ । हुलाक सेवा विभागले रु. १० दरका दुईवटा टिकट प्रकाशन गरेको छ, जसमा चलचित्र ‘आमा’ का नायक र नायिकाको तस्बिर अंकित छ। टिकटको प्रथम दिवसीय आवरणमा विशेष ढाँचा प्रदान गरिएको छ ।
टिकट अनावरण समारोहमा अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बोर्ड अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा सहभागिता जनाएका थिए ।
हुलाक सेवा विभागकी शाखा अधिकृत चन्द्रा थापाले टिकटको टाँचा तयार गरेकी हुन्। महानिर्देशक पंगेनीले यो टिकटले ‘आमा’ को ऐतिहासिक महत्त्वलाई विश्वभर पुर्याउने विश्वास व्यक्त गरेकी छिन्। उनले राष्ट्रिय विभूति र महत्त्वपूर्ण चीजहरूलाई हुलाक टिकटमा समावेश गर्ने विभागको नीति रहेको पनि उल्लेख गरेकी छिन् । यो टिकटले नेपाली चलचित्रको प्रवर्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।