अस्पतालको इमर्जेन्सीसम्म पुगेकी नीति शाह भन्छिन्: ‘आफैँलाई माया गर्नु अनिवार्य छ’

काठमाडौँ । अहिलेकी व्यस्त अभिनेत्री नीति शाह हाल प्रदर्शनरत फिल्म ‘नरसिंहाः अवतार’ मार्फत चर्चामा छिन्। मिस नेपाल इन्टरनेशनल २०१७ र सफल मोडलका रूपमा परिचित नीति, गत वर्ष ‘खजुरे ब्रो’ बाट अभिनयमा उदाएकी हुन्। सुन्दर अनुहार र आकर्षक शारीरिक बनावटका कारण उनलाई कुशल अभिनेत्रीको रूपमा हेरिएको छ।

यसैबीच, अभिनेत्री नीति शाह अहिले हाइपो-थाइराइड का कारण स्वास्थ्य समस्यामा परेकी छन्। सामाजिक सञ्जालमा एक पोस्टमार्फत उनले आफ्नो तौल कहिले बढ्ने त कहिले घट्ने भइरहेको जानकारी गराएकी छन्। केही महिनाअघि ६४ केजी तौल भएकी नीतिको अहिले ६९ केजी पुगेको छ। उनी आफ्नो पुरानो तौल ६१ केजीमा फर्कने प्रयासमा छिन् र तीन महिनापछि फेरि जिम जान थालेकी छन्।

‘आफैँलाई धेरै काममा धकेलें, जसले गर्दा अस्पताल पुगें’

नीतिले आफूलाई निरन्तर काममा व्यस्त राखेका कारण विगत दुई वर्षदेखि विश्राम नपाएको गुनासो गरेकी छन्। यही व्यस्तताका कारण आफ्नो शरीर र मनले साथ दिन छाडेको र अस्पतालको इमर्जेन्सीसम्म पुग्नुपरेको उनले बताएकी छन्।

आफ्ना गाह्रा दिनहरूको अनुभव सुनाउँदै नीति भन्छिन्, “मेरा धेरै रातहरू आँखा खुल्ला भएरै बिते, गम्भीर चिन्ता र तनावहरूले गरेका आक्रमण, अनगिन्ती रातहरू निद्राविहीन र आँसुले भरिएका थिए।”

इमर्जेन्सीमा पुगेपछि भने उनले स्वास्थ्यभन्दा ठूलो केही नभएको बुझेकी छन्। आफ्नो पीडा र तनाव भोगेकाले अब अरूलाई स्वास्थ्यप्रति सचेत रहन सल्लाह दिन्छिन्।

“अन्ततः खाली गिलासबाट अरूलाई केही दिन सकिँदैन भन्ने कुरा मैले बुझें,” नीति गम्भीरतापूर्वक भन्छिन्, “आफूलाई माया गर्नु वा हेरचाह गर्नु वैकल्पिक होइन, यो त अनिवार्य हो भन्ने कुरा मैले बुझें।”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै