‘ऊनको स्वीटर’ को कीर्तिमान: सबै गीत करोड क्लबमा प्रवेश

काठमाडौँ । नेपाली फिल्म उद्योगमा यतिबेला प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ ले नयाँ कीर्तिमान स्थापित गरेको छ। प्रदर्शनको ३७औँ दिनमा पनि सफलताका साथ चलिरहेको यो फिल्मका सम्पूर्ण गीतहरूले युट्युबमा १ करोड (१० मिलियन) भ्यूज कटाएर ‘करोड क्लब’ मा स्थान बनाउन सफल भएका छन्।

सांगीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ‘ऊनको स्वीटर’ को म्युजिक एल्बम नै सुपरहिट साबित भएको छ। हालै ‘चाइने जो जिन्दगानीमा’ बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै यो गौरवपूर्ण उपलब्धि हासिल भएको हो।

समाचार तयार पार्दासम्म, फिल्मका गीतहरूको युट्युब भ्यूज यस प्रकार छ:

‘फूलहरू मुस्काउँछन्’: २ करोड १० लाख (२१ मिलियन) भ्यूज

‘मखमली’: १ करोड ३० लाख (१३ मिलियन) भ्यूज

‘काफ्ले’: १ करोड ३० लाख (१३ मिलियन) भ्यूज

‘चाइनेजो जिन्दगानीमा’: १ करोड (१० मिलियन) भ्यूज

यस सफलताप्रति आर्टमाण्डु परिवारले दर्शक तथा श्रोताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। “नेपाली फिल्मले पाएको यो सफलता धेरै समयपछि नै हुनुपर्छ। हामी हजुर दर्शक श्रोताहरू प्रति कृतज्ञ छौँ,” आर्टमाण्डु परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ। यो सफलताले आगामी दिनका लागि थप सकारात्मक दबाब र चुनौती थपेको पनि आर्टमाण्डु परिवारले जनाएको छ।

फिल्मका निर्देशक नवीन चौहानले भविष्यमा पनि यस्तै मिहिनेतका साथ राम्रा फिल्महरू निर्माण गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘ऊनको स्वीटर’ वि.सं. २०८२ सालको पहिलो सुपरहिट फिल्म बन्न सफल भइसकेको छ। यो फिल्म हाल नेपालभरका दर्जनौँ हलहरू तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्व लगायतका देशहरूमा प्रदर्शन भइरहेको छ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै