काठमाडौँ । चालु आर्थिक वर्षको फागुन महिनामा घरजग्गा कारोबार र राजस्व संकलन दुवैमा उल्लेख्य गिरावट आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार माघको तुलनामा फागुनमा राजस्व संकलन १७.१७ प्रतिशतले घटेको हो ।
तथ्याङ्कमा तुलनात्मक अवस्था:
राजस्व संकलन: माघमा ५ अर्ब ९९ लाख रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा घटेर ४ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ ।
कारोबार सङ्ख्या: माघमा १ लाख ५३ हजार ९ सय २० पटक कारोबार भएकोमा फागुनमा १ लाख ११ हजार ४ सय ९४ पटक मात्र भएको छ ।
नयाँ किनबेच: माघमा ५० हजार ८३७ वटा नयाँ घरजग्गा किनबेच (लिखत पारित) भएकोमा फागुनमा यो सङ्ख्या ३६ हजार ४ सय ७१ मा खुम्चिएको छ ।
जग्गा वर्गीकरणको सकस:
भू–उपयोग नियमावली, २०७९ बमोजिम स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाटमा पटक–पटक समस्या देखिएको छ। सरकारले तीन पटक नियमावली संशोधन गरे पनि हालसम्म ३३८ पालिकाले मात्रै पूर्ण रूपमा जग्गा वर्गीकरण सम्पन्न गरेका छन्। स्थानीय तहलाई २०८२ असारसम्मको समयसीमा दिइए पनि सुस्त गतिको वर्गीकरणले बजार चलायमान हुन सकेको छैन।
कारोबार घट्नुका कारणहरू:
व्यवसायीहरूका अनुसार फागुनमा निर्वाचनको माहौल, करिब एक साताको सार्वजनिक बिदा र नयाँ सरकार गठनको पर्खाइले लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहँदा कारोबार प्रभावित भएको हो। यसअघि भदौमा भएको ‘जेनजी प्रदर्शन’का क्रममा मालपोत कार्यालयहरूमा पुगेको क्षतिले पनि केही समय कार्यसम्पादनमा असर पारेको थियो।
चालु आर्थिक वर्षको सुरुदेखि नै उतारचढावपूर्ण रहेको घरजग्गा राजस्व मङ्सिर र पुसमा केही सम्हालिए पनि फागुनमा पुनः ओरालो लागेको विभागको तथ्याङ्कले देखाउँछ ।