काठमाडौँ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । फागुन २२ गते शुक्रबारदेखि फागुन २९ गते शुक्रबारसम्मको तथ्याङ्क हेर्दा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, गत शुक्रबार प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन यस शुक्रबार ३ लाख १४ हजार २०० रुपैयाँ पुगेको छ ।
साताभरको उतारचढाव
यस साता सुनको मूल्यमा ठुलो उतारचढाव देखियो । साताको मध्यतिर ह्वात्तै बढेको मूल्य अन्त्यमा पुनः ओरालो लागेको हो:
आइतबार (२४ गते): ३,५०० रुपैयाँले बढेर ३ लाख १६ हजार ९०० पुग्यो।
सोमबार (२५ गते): घटेर ३ लाख १३ हजार २०० मा झर्यो।
मङ्गलबार (२६ गते): पुनः बढेर ३ लाख १७ हजार पुग्यो।
बुधबार (२७ गते): साताकै उच्च बिन्दु ३ लाख १९ हजार रुपैयाँ कायम भयो।
बिहीबार (२८ गते): घटेर ३ लाख १७ हजारमा झर्यो।
शुक्रबार (२९ गते): एकैदिन २,८०० रुपैयाँले घटेर ३ लाख १४ हजार २०० मा कारोबार भयो।
मूल्य बढ्नुको कारण र प्रक्षेपण
अन्तर्राष्ट्रिय स्तरमा इजरायल र इरानबीच जारी तनाव तथा मध्यपूर्वी क्षेत्रको अस्थिरताले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा असर पारेको छ । इन्धन र ग्यासको मूल्यमा परेको प्रभावसँगै लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्यमा दबाब परेको व्यवसायीहरूको भनाइ छ ।
महासङ्घका पूर्वअध्यक्ष मणिकरत्न शाक्य भन्छन्, “अन्तर्राष्ट्रिय रूपमा युद्ध र टकराव चलिरहेकाले त्यसको प्रत्यक्ष असर बहुमूल्य धातुमा परिरहेको छ। आगामी दिनमा मूल्य घट्नेभन्दा बढ्ने नै सम्भावना बढी देखिन्छ ।”
उनका अनुसार हाल विवाहको लगनको महिना भए पनि उच्च मूल्यका कारण सुनको कारोबारमा भने अपेक्षाकृत सुधार आउन सकेको छैन ।