काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर महँगो भएको हो ।
महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ कायम गरेको छ । यसअघि गत शुक्रबार (फागुन १५) सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूको भनाइ छ ।
सुनको मूल्य दुई दिनको अवधिमा प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७४ हजार ७७५ रुपैयाँ कायम भएको छ।
इरानमाथि भएको आक्रमणको भोलिपल्ट नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मध्यपूर्वमा बढ्दो तनावका कारण बहुमूल्य धातुको मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ । इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरेका थिए । लगत्तै इरानले पनि मध्यपूर्वमा रहेका विभिन्न अमेरिकी वेशहरुमा जवाफी आक्रमण गरेपछि तनाव बढेको छ ।
चाँदीको मूल्य पनि वृद्धि
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । शुक्रबार प्रतितोला ५ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँ निर्धारण गरिएको छ । दुई दिनमा चाँदी प्रतितोला २४५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।
पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै जाँदा नेपाली बजारमा सुनको माग र कारोबारमा समेत सुस्तता आउन सक्ने अनुमान गरिएको छ ।