सुनको मूल्य एकै हप्तामा ७,४०० ले बढ्यो, चाँदीले कायम गर्यो ऐतिहासिक रेकर्ड

काठमाडौँ । नेपाली बजारमा पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन पुस २० गते आइतबार २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य पुस २५ गते शुक्रबारसम्म आइपुग्दा २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको हो ।

यस साता सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । आइतबार एकैदिन ४ हजार ६०० रुपैयाँले बढेको सुन सोमबार पुनः ३ हजार १०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको थियो । मंगलबार ४०० रुपैयाँले घटेको सुन बुधबार स्थिर रह्यो भने बिहीबार २ हजार रुपैयाँले ओरालो लागेको थियो । शुक्रबार पुनः २ हजार १०० रुपैयाँको वृद्धि भई सुन २ लाख ६७ हजार ८०० रुपैयाँमा कायम भएको छ ।

चाँदीको मूल्यले भने यस साता हालसम्मकै उच्च बिन्दु चुमेर नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ४ हजार ५०० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलाको ४ हजार ९३५ रूपैयाँ पुगेर नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको हो ।

त्यसपछिका दिनहरूमा भने चाँदीको मूल्य केही ओरालो लागेको छ । बिहीबार ४ हजार ८३५ र शुक्रबार ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

समग्रमा हेर्दा अघिल्लो साताको तुलनामा चाँदीको मूल्य यो साता २ हजार ८० रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र डलरको मजबुतीका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा प्रभाव परेको व्यवसायीहरूको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै