काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन तोलामा ३ हजार ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
सुनको मूल्य: आइतबार प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज २ लाख ६१ हजार ७०० रुपैयाँ कायम भएको छ । यो नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य हो । यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख २४ हजार ३ सय ६५ रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य: आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। आइतबार प्रतितोला ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १३० रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँ पुगेको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ६३० रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको विनिमय दरमा भएको उतारचढाव र लगानीकर्ताहरूको बढ्दो आकर्षणका कारण स्थानीय बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ उचाइ लिइरहेको व्यवसायीहरू बताउँछन् ।