
एशियाका बजारमा पनि व्यापक वृद्धि, अमेरिका-चीन भेटवार्ताको सकारात्मक प्रभाव
टोकियो । एशियाका प्रमुख सेयर बजारहरूमा मङ्गलबार उल्लेखनीय वृद्धि भएको छ । जापानको मुख्य सेयर सूचकाङ्क निक्केई दुई सय पच्चीस ०।८ प्रतिशतले बढ्दै ४९ हजार ५९५ दशमलव ७२ अङ्कमा पुगेको छ । यो सूचकाङ्क पहिलो पटक ५० हजारको नजिक पुग्दै ऐतिहासिक स्तरमा छुन लागेको हो ।
यसको मुख्य कारण जापानकी सानाए टाकाइची पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा रहेको बताइएको छ । उनले लगानीमैत्री नीति तथा कम ब्याजदरको पक्षमा सरकारलाई अघि बढाउने अपेक्षा गरिएको छ। यद्यपि उनको गठबन्धन सरकारले संसद्मा झिनो बहुमत मात्र प्राप्त गरेको छ ।
एशिया र अमेरिकामा बढी:-
हङकङको सेयर बजारमा पनि १.७ प्रतिशत वृद्धि देखिएको छ भने चिनियाँ बजारमा १.२ प्रतिशतको सुधार आएको छ। दक्षिण कोरियाको कोस्पी सूचकाङ्क ०.५ प्रतिशतले उकालो लागेको छ। अष्ट्रेलियाको प्रमुख सूचकाङ्क ०.८ प्रतिशतले बढेर नौ हजार नाघेको छ ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्राध्यक्ष सी जिनपिङबीच चाँडै भेटवार्ता हुने सम्भावनाले विश्व बजारमा सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ। दुई देशबीचको व्यापार तनाव कम हुने आशा गरिएको छ ।
संयुक्त राज्य अमेरिकामा पनि सेयर बजारमा सुधार देखिएको छ। एप्पल कम्पनीको सेयर मूल्यमा करिब चार प्रतिशत वृद्धि भएको छ। विश्व बजारमा लोहा उत्पादन कम्पनी क्लिभल्याण्ड-क्लिफ्सको सेयरमा २१ प्रतिशतभन्दा बढीको उछाल आएको छ।
मुद्रास्फीतिमा चुनौती:
यसैबीच, जापानी मुद्रा येन अमेरिकी मुद्रासँग तुलना गर्दा कमजोर हुँदै गएको छ। बैंक अफ जापानले ब्याजदर बढाउने सम्भावना कम देखिएसँगै मुद्रास्फीति नियन्त्रणमा चुनौती आउने आँकलन गरिएको छ ।