धनतेरसमा एकै दिन करिब ८० किलो सुन, १५ सय किलो चाँदी बिक्री

कीर्तिमानी मूल्य भए पनि सुरक्षित लगानीका लागि सुनमा चासो बढेको व्यवसायीको भनाइ

काठमाडौँ । सुनचाँदीको मुख्य कारोबार हुने धनतेरसमा एकै दिन करिब ८० किलो सुन र १ हजार ५०० किलो चाँदी बिक्री भएको छ । यो परिमाण मुलुकभरकै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताए ।

‘धनतेरसकै दिन सुनको मूल्यले कीर्तिमान बनाएको थियो । कीर्तिमानी मूल्य रहेकै बेला एकै दिन ७० देखि ८० किलो बिक्री हुनु धेरै राम्रो हो,’ उनले भने । उनले गत वर्षको तुलनामा सुन बिक्री परिमाणमा केही कम भए पनि मूल्यका हिसाबले धेरै राम्रो भएको स्पष्ट पारे ।

धनतेरसकै दिन (कात्तिक १ गते) महासंघले सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तोकेको थियो । सर्वसाधारणले गहना खरिद गर्दा ज्याला–जर्तीलगायत करिब औसतमा १२ देखि १५ प्रतिशत थप शुल्क तिर्नुपर्छ ।

रसाइलीले भने, ‘सुरक्षित लगानीकै लागि सर्वसाधारणले गहनामा लगानी गरेको देखिन्छ, धनतेरसमा भएको सुन बिक्रीले पनि यसलाई पुष्टि गर्छ ।’ उनले धनतेरसका दिन १ हजार ५०० किलो चाँदी बिक्री भएको जनाए । महासंघले प्रतितोला चाँदीको मूल्य ३ हजार ३३५ रुपैयाँ तोकेको छ ।

मागमा वृद्धि र आपूर्तिमा चापः

गहना व्यवसायीका अनुसार, लक्ष्मीपूजा गर्न पैसाभन्दा सुनचाँदी प्रयोग गर्ने चलन बढ्दो छ । मूल्य अझै बढ्ने आंकलनले सर्वसाधारणले गहनाभन्दा सिक्का, ढिक्का, बेरुवा औँठी लगायतमा चासो दिएका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले भने, ‘गहना व्यवसायीका लागि धनतेरस एउटा पर्व नै हो । गत वर्षको तुलनामा व्यापार कम भए पनि मूल्य बढेका हिसाबमा पनि सर्वसाधारणको चासो सुनमा देखियो। बिक्री ढिकै भएको छ ।’

उनले गत वर्षको तुलनामा चाँदी बिक्री भने बढेको बताए। उनले सुनका ढिक्का बिक्री गर्न नमिले पनि चाँदीको मिल्ने बताए । मूल्य अझै बढ्ने आकलनले सर्वसाधारणले चाँदी किन्न मन गरेका छन् ।

बैंकले दिनहुँ किन्न पाउने सुनको परिमाण २० किलोबाट ५ किलो बढाएर २५ किलो बनाइएको छ । राष्ट्र बैंकले २५ किलोको कोटा निर्धारण गरे पनि बजारमा दैनिक माग ४० देखि ४५ किलो पुगेको व्यवसायीको भनाइ छ । पुरानो सुन फिर्ता र विदेशबाट आएको सुनले जसोतसो माग धानेको उनीहरूले जनाए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै