सुनको मूल्य तोकिन छाड्यो, मंगलबार ताेकिएन भाउ

काठमाडौँ । सुनचाँदी व्यवसायी महासंघ आन्दोलनरत रहँदै गर्दा मंगलबार सुनको मूल्य तोकिएको छैन ।

सुनचाँदी व्यवसायीले विलासिता कर र भ्याट खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौँ सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगायतका संघ-संस्थाहरूले यस कर नीतिको विरोधमा प्रदर्शन गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ सोमबार २ हजार १५० रूपैयाँ तोकिएको थियो ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३२२९ दशमलव ७६ डलरमा कारोबार भएको छ । यस्तै चाँदी चाँदीको भाउ प्रतिऔंस ३६ दशमलव १३ डलर छ ।

अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।

यस्ता छन् व्यवसायीका मुख्य मागहरूः-

प्रदर्शनकारीहरूले ‘हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे’, ‘उपभोक्तामारा नियम चाहिँदैन’, ‘सरकार सुन दे’, ‘सुनचाँदीको कानून दे’, ‘उच्च कर हटाउ, व्यापार बचाउँ’ लगायतका नारा र प्लेकार्ड बोकेका थिए। उनीहरूका मुख्य मागहरू निम्न छन्:

२ प्रतिशत विलासिता कर खारेजी: सुनचाँदी महँगो भइरहेका बेला सरकारले विलासिता कर लगाउनु अव्यावहारिक भएको उनीहरूको भनाइ छ ।

१३ प्रतिशत भ्याट खारेजी: हिरा र पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने माग पनि उनीहरूको छ। व्यवसायीमैत्री नीति: सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवम् उपभोक्तामुखी स्पष्ट नीति र नियमावली ल्याउन उनीहरूले आग्रह गरेका छन् ।

ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यले यी करहरूले ग्राहकलाई समेत ठूलो मार पर्ने बताए । उनले नेपाल र बाहिरी मुलुकमा सुनको भाउमा २०/२५ हजार रुपैयाँको फरक हुनु सरकारको कमजोरी भएको र सरकारले मुलुकभित्र र बाहिर सुनको भाउ समान बनाउन लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै