आमाको नामबाट पनि नागरिकता लिन सकिने व्यवस्था पारित

काठमाडौँ । अब आमाको नामबाट पनि नागरिकता लिन सकिने व्यवस्था गरिएको छ । नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको हो।

समिति सभापति रामहरि खतिवडाका अनुसार अब नागरिकता बाबु वा आमा, दुबैमध्ये जसको नाममा चाहिन्छ, त्यसैको आधारमा लिन सकिनेछ । यसअघि नागरिकता लिन बाबु र आमाको दुवै विवरण अनिवार्य थियो ।

तर, आमाको नामबाट नागरिकता लिनका लागि स्वघोषणा अनिवार्य गरिएको छ । स्वघोषणा गलत प्रमाणित भएमा एक वर्षसम्म कैद र जरिवाना गरिने प्रावधान विधेयकमा राखिएको छ ।

सरकारले आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्था नहुँदा धेरै व्यक्ति नागरिकताविहीन बनेको अवस्थालाई ध्यानमा राख्दै यो संशोधन विधेयक ल्याएको हो । यसपछि नेपाली आमाबाट जन्मिएर यहीँ हुर्केका तर, बुवाको पहिचान नखुलेको व्यक्तिले आमाको नामबाट नागरिकता पाउनेछन् ।

त्यस्तै, नागरिकता वितरण प्रक्रियामा कार्यालय प्रमुखको भूमिका रहने व्यवस्था अनुसार अब प्रमुख प्रशासकीय अधिकृत नभए पनि नायब सुब्बाले नागरिकता वितरण गर्न सक्ने व्यवस्था समेत विधेयकमा समावेश गरिएको छ ।

समिति सचिव सुरज दुराका अनुसार विधेयक ऐनका रूपमा कार्यान्वयनमा आएपछि कार्यालय प्रमुखको रूपमा कार्यरत नायब सुब्बाले पनि नागरिकता वितरण गर्न सक्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै