काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले दशकौँ पुराना ऐन–कानुनका कारण निजी क्षेत्रले समस्या भोग्नुपरेको बताउँदै ती कानुन तत्काल संशोधन गर्न माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगततर्फका केन्द्रीय उपाध्यक्षका उम्मेदवार शिव घिमिरेद्वारा आयोजित ‘नीति संवाद’ कार्यक्रममा बोल्दै श्रेष्ठले भने, “म जन्मिनुभन्दा अघिको ऐनले अझै मुलुक चलिरहेको छ, अब समयसापेक्ष संशोधन हुनुपर्छ।”
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्र अहिले बोझिलो कर प्रणाली र नीतिगत अस्थिरताको चरम पीडामा रहेको उल्लेख गर्दै यो अवस्था अन्त्य गर्न संसद्ले तत्काल सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । “नाफा कमाउनुलाई गलत दृष्टिकोणले हेर्ने पुरानो मानसिकता अब बदल्नुपर्छ। निजी क्षेत्रले मुलुकको आर्थिक विकासमा गरेको योगदानलाई राज्यले सकारात्मक रूपमा लिनुपर्छ,” उनले भने ।
गत निर्वाचनमा प्रमुख दलहरूले आफ्ना घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दै श्रेष्ठले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न निजी क्षेत्र सरकार र संसद्सँग पूर्ण सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।
कार्यक्रम ‘सुरक्षित निजी क्षेत्रः सशक्त महासंघ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको थियो, जहाँ विभिन्न व्यवसायीहरूले नीतिगत सुधारको आवश्यकतामाथि चर्चा गरेका थिए ।