काठमाडौँ । सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालको बयान आज पनि हुने भएको छ । शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार अपराह्न बयानका लागि बोलाएका अग्रवालको बयान नसकिएपछि आइतबार पनि हुने भएको हो ।
अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएर उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको हो ।
विभागले शुक्रबार अपराह्न बयानका लागि बोलाएका अग्रवालको बयान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । प्रहरी उच्च स्रोतका अनुसार यो प्रकरणमा उहाँका अन्य व्यावसायिक साझेदारहरू पनि खोजीको सूचीमा रहेका छन् ।
दीपक भट्टसँगको ‘कनेक्सन’ र ४३ करोडको कारोबार
अनुसन्धानको मुख्य कडी विवादित व्यवसायी दीपक भट्टसँग जोडिएको छ । हिमालयन बैंकबाट जगदम्बा स्टिलका नाममा लिएको ऋणमध्ये करिब ४३ करोड रुपैयाँ दीपक भट्टको व्यक्तिगत खातामा पुगेको देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । यसमा बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण दुवै आकर्षित हुने अनुसन्धानमा संलग्न अधिकारीले जानकारी दिएका छन् ।
बिहीबार राहदानी रोक्का गरी कालोसूचीमा राखिएका भट्टलाई शुक्रबारै पक्राउ गरिएको थियो । सोही प्रकरणमा बयानका लागि अग्रवाललाई पनि नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनालाई ललितपुर परिसरमा राखिएको छ । शनिबार बिदा भएकाले उनीहरूको बाँकी बयान आइतबार हुने बताइएको छ ।
सोही प्रकरणमा जोडिएपछि शंकरलाल अग्रवालको छोरा शुलभ अग्रवाल पनि प्रहरीको हिरासतमा रहेका छन् ।
हिमालयन रि–इन्स्योरेन्सको सेयरमा पनि अनुसन्धान
अनुसन्धानको सुई हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर खरिद–बिक्रीमा पनि सोझिएको छ। नीतिगत प्रभाव पारेर लाइसेन्स खरिद–बिक्री र नियुक्तिहरूमा सक्रियता बढाएको आरोप खेप्दै आएका भट्ट र शंकर ग्रुपबीचको यो पाटोमा पनि सीआईबीले सूक्ष्म अध्ययन गरिरहेको छ ।
विवादमा परिरहने व्यावसायिक घराना
नेपालको ठूलो व्यावसायिक घरानामध्येको एक शंकर ग्रुप बेलाबेलामा विवादमा आइरहने गरेको छ । २०७६ चैतमा कोभिड–१९ महामारीका बेला ‘थर्मल गन’ को कालोबजारी गरेको आरोपमा शंकरलालका छोरा शुलभ अग्रवाल पक्राउ परेका थिए। सस्तो थर्मल गनलाई १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको अभियोग उनीमाथि लागेको थियो ।
शंकर ग्रुपको लगानी क्षेत्र
यो समूहको लगानी नेपालका विभिन्न ठूला उद्योग र परियोजनाहरूमा रहेको छ:
स्टिल र सिमेन्ट: दक्षिण एसियाकै ठूलोमध्येको एक जगदम्बा स्टिलसहित सौर्य, रिद्धिसिद्धि र जगदम्बा सिमेन्ट।
अटोमोबाइल: प्रोटोन कार र विभिन्न दुईपांग्रे सवारीसाधनको बिक्री।
पर्यटन र ऊर्जा: हिल्टन होटल, बलेफी जलविद्युत्, मोदी इनर्जी र अपर बलेफी जलविद्युत् आयोजना।
वित्तीय क्षेत्र: हिमालयन रि–इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स।
अन्य: चुरोट, मदिरा र विभिन्न ट्रेडिङ व्यवसायमा यस समूहको ठूलो लगानी छ।