काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले वस्तुगततर्फको कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
पाण्डेले महासंघका वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठको प्यानलबाट दोस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । सफल र इमान्दार उद्यमीको रूपमा परिचित पाण्डे नेपालको तयारी पोशाक निर्यात, कृषि, पर्यटन तथा हस्पिटालिटी क्षेत्रका स्थापित व्यक्तित्व हुन् ।
उम्मेदवारीका मुख्य आधार र अनुभव:
नेतृत्व र अनुभव: नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षको रूपमा उनले उद्योगीहरूका नीतिगत समस्यालाई सरकारको उच्च तहसम्म पुर्याएर समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्दै आएका छन् ।
राज्यद्वारा सम्मानित: नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित “महत्वपूर्ण व्यावसायिक व्यक्ति (CIP)” सम्मानबाट उनी विभूषित भएका छन् । साथै विभिन्न सरकारी विषयगत समितिहरूमा रहेर नीतिगत सुधारमा योगदान पुर्याउँदै आएका छन् ।
युवा नेतृत्व र समन्वय: युवा पुस्ताका प्रतिनिधि पाण्डेले हालैको राजनीतिक परिवर्तनपछि गठन भएको नयाँ सरकारसँग निजी क्षेत्रको उत्पादनदेखि निर्यातसम्मका मुद्दामा प्रभावकारी समन्वय गर्न सक्ने अपेक्षा गरिएको छ ।
स्पष्ट आवाज: वर्तमान चुनौतीपूर्ण आर्थिक परिवेशमा निजी क्षेत्रका समस्यालाई गहिराइमा बुझ्दै व्यवसायीहरूको आवाजलाई सशक्त रूपमा उठाउन सक्ने क्षमता उनको मुख्य सबल पक्ष हो ।
हाल महासंघको कार्यकारिणी सदस्यका रूपमा सक्रिय रहेका पाण्डेको उम्मेदवारीले वस्तुगत क्षेत्रको हितलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । पाण्डेको प्यानलले उनको अनुभव र सक्रियतालाई महासंघको आगामी कार्यदिशाका लागि महत्वपूर्ण कडीका रूपमा लिएको छ ।