ओखलढुंगामा निर्वाचन विवाद: हराएका मतपत्र समानुपातिकको पेटिकामा भेटिए, परिणाम घोषणाप्रति कांग्रेसको आपत्ति

ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भए पनि ओखलढुंगामा विवाद चुलिएको छ । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई मात्र ५ मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल निर्वाचित भएको घोषणा गरिएपछि विवाद सतहमा आएको हो ।

विवादको मुख्य कारण: १८८ मतपत्रको फरक

मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको संख्या र वास्तविक गणनामा भेटिएको मत संख्याबीच १८८ मतको फरक देखिएपछि कांग्रेसले प्रश्न उठाएको थियो । उम्मेदवार लुइँटेलले मतपत्र हराएको दाबी गर्दै पुनः मतगणनाको माग गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए ।

विवादका मुख्य बुँदाहरू:

हस्ताक्षर अस्विकार: कांग्रेस उम्मेदवार लुइँटेल र उनका प्रतिनिधिले अन्तिम मतपरिणामको निर्णयमा हस्ताक्षर गरेका छैनन्।

समानुपातिकमा भेटिए मतपत्र: प्रत्यक्षतर्फका हराएका भनिएका मतपत्रहरू अहिले समानुपातिकतर्फको मतपेटिकामा भेटिन थालेका छन् ।

पुनः मतगणनाको माग: १८८ मतको ठूलो अन्तर रहेकाले ती मतपत्र फेला परेपछि मात्र निर्णय हुनुपर्ने कांग्रेसको अडान छ।

मुख्य निर्वाचन अधिकृतको भनाइ: ‘भेटिएका मतपत्र बदर हुने’

ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत एवं न्यायाधीश हरिप्रसाद कोइरालाले समानुपातिकको गणनाका क्रममा केही प्रत्यक्षतर्फका मतपत्र भेटिएको स्वीकार गरेका छन् । यद्यपि, उनले ती मतपत्रहरू कानुनी रूपमा बदर हुने बताएका छन् ।

“समानुपातिकतर्फको गणनामा केही मतपत्र भेटिँदै छन् । हामीले ती मतपत्र बदर हुने निर्णय गरिसकेका छौँ र मुचुल्का गरेर सुरक्षित राख्छौँ । यसले घोषित निर्वाचन परिणाममा कुनै फरक पार्दैन,” मुख्य निर्वाचन अधिकृत कोइरालाले स्पष्ट पारे ।

कानुनी लडाइँको तयारी

कांग्रेस उम्मेदवार कुमार लुइँटेलले भने निर्वाचन अधिकृतको तर्कप्रति असहमति जनाउँदै कानुनी उपचार खोज्ने बताएका छन् । जनताले सही ढंगले गरेको मतदानलाई प्राविधिक कारण देखाएर बदर गर्न नमिल्ने र हराएका मतपत्रको खोजी नगरी परिणाम घोषणा गर्नु गैरकानुनी भएको उनको जिकिर छ ।

५ मतको झिनो अन्तर र १८८ मतको अन्योलले ओखलढुंगाको चुनावी नतिजा अब अदालतसम्म पुग्ने देखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै