काठमाडौँ । भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा भएको मानवीय क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन सुरक्षा प्रमुख र प्रशासनिक अधिकारीहरूलाई फौजदारी कारबाही गर्न सिफारिस गरेको छ । परिस्थितिको सही मूल्याङ्कन नगरी अत्यधिक बल प्रयोग गर्न भूमिका खेलेको भन्दै आयोगले ओहोदामा रहेका व्यक्तिहरूलाई दोषी ठहर गरेको हो ।
कारबाहीको सूचीमा को-को ?
आयोगसम्बद्ध स्रोतका अनुसार प्रतिवेदनमा देहायका अधिकारीहरूमाथि फौजदारी अनुसन्धान र कारबाहीका लागि स्पष्ट सिफारिस गरिएको छ:
चन्द्रकुवेर खापुङ: तत्कालीन प्रहरी महानिरीक्षक (IGP)
छवि रिजाल: तत्कालीन प्रमुख जिल्ला अधिकारी (CDO), काठमाडौँ
दीपशमशेर जबरा: तत्कालीन एसएसपी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय
विश्व अधिकारी: तत्कालीन प्रमुख, जिल्ला प्रहरी परिसर काठमाडौँ
राजनीतिक नेतृत्वको भूमिका
प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको भूमिकाबारे पनि विस्तृत विश्लेषण गरेको छ । यद्यपि, उनीहरूमाथि कुन स्तरको कारबाही सिफारिस गरिएको छ भन्नेबारे स्रोतले स्पष्ट खुलाएको छैन ।