निर्वाचन आउन २८ दिन बाँकीः निर्वाचन प्रचारप्रसार खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०, निर्वाचन आचारसंहिता, २०८२ को दफा १६, आयोगको माघ ८ को निर्णय तथा नेपाल राष्ट्र बैंकले माघ १२ मा जारी गरेको निर्देशनका आधारमा यो कार्यविधि ल्याइएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकिङ कारोबार गर्न इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशनअनुसार निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई पारदर्शी र अनुशासित बनाउने लक्ष्य राखिएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचार–प्रसारका लागि प्राप्त गर्ने आर्थिक सहयोग, चन्दा तथा सम्पूर्ण खर्च यही विशेष बैंक खातामार्फत गर्नुपर्नेछ । नगद कारोबारलाई निरुत्साहित गर्दै सबै आम्दानी–खर्चको स्पष्ट अभिलेख राख्न यो व्यवस्था गरिएको जनाइएको छ ।

कार्यविधिअनुसार राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसारका लागि बैङ्क खाता खोल्न निर्वाचन आयोगको सचिवालयबाट सिफारिस लिनुपर्ने छ भने उम्मेदवारहरूको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस गरिने व्यवस्था गरिएको छ ।

सिफारिसका आधारमा मात्र तोकिएका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न पाइनेछ । खाता सञ्चालन, कारोबारको सीमा, विवरण पेस गर्ने प्रक्रिया तथा अनुगमनसम्बन्धी प्रावधानहरू पनि कार्यविधिमा समेटिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै