काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूमध्ये देशभरबाट ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले तोकिएको समयसीमाभित्र ४९ जना उम्मेदवारले नाम फिर्ता लिएको जानकारी दिए । यसअघि देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३,४८७ जनाले मनोनयन दर्ता गराएका थिए।
प्रवक्ता भट्टराईका अनुसार उम्मेदवारविरुद्ध परेका दाबी विरोधका उजुरीहरूमाथि छानबिन गर्दा एक जनाको मनोनयन खारेज भएको छ । कुल ५ जनाविरुद्ध उजुरी परेकोमा अन्य ४ जनाको उम्मेदवारी भने कायम रहेको आयोगले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिने प्रक्रिया सकिएसँगै आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको छ ।