सुशासनको एक मात्र विकल्प ‘डिजिटल नेपाल रोडम्याप’: सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकलाई सुशासनको मार्गमा अगाडि बढाउने एक मात्र विकल्प ‘डिजिटल नेपाल रोडम्याप’ भएको बताएका छन् ।

काठमाडौँमा आयोजित ‘सेपिङ नेपाल डिजिटल फ्युचर’ अन्तर्गत ‘एआई पोलिसी एण्ड इन्डस्ट्री ग्रोथ’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री खरेलले उक्त धारणा राखेका हुन् । मन्त्री खरेलले आफ्नो कार्यकालभित्रै डिजिटल नेपालको रोडम्याप ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

“हामी डिजिटल नेपालको स्पष्ट मार्गचित्र बनाएर मुलुकलाई अगाडि बढाउन लागिरहेका छौँ,” मन्त्री खरेलले भने, “यस रोडम्यापमा समेट्नुपर्ने विषयहरू बुँदागत रूपमा सुझाव दिन म आग्रह गर्दछु, ती सुझावहरूलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्नेछ ।”

सूचना प्रविधि क्षेत्रको विकासका लागि सञ्चार मन्त्रालयले अन्य मन्त्रालयहरूसँग समन्वयकारी (पुलको) भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले यस क्षेत्रका सम्पूर्ण नीतिगत र कानुनी अल्झनहरू हटाउने आश्वासन दिए । मन्त्री खरेलले मुलुकको विकास र समृद्धिको मुख्य आधार नै सूचना र प्रविधि भएकोमा जोड दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले डिजिटल साक्षरता र साइबर सुरक्षामा लगानी बढाउँदै सुशासन प्रवर्द्धन गर्नुपर्ने सुझाव दिए । उनले ‘डिजिटल नेपाल फ्रेमवर्क’ ले विशेष गरी शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा ध्यान दिएर नीति निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

छलफलमा सहभागी सूचना प्रविधि क्षेत्रका प्रतिनिधिहरूले नयाँ नीति बनाउनु भन्दा पनि बनेका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै