काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनका विषयमा रहेका सबै अन्योल चिर्दै सरकार चुनाव गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल’ कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
मन्त्री खरेलले भने, फागुन २१ गतेको निर्वाचन हुनेमा कुनै शङ्का छैन, सरकार दृढताका साथ अगाडि बढेको छ। ‘चुनाव हुन्छ कि हुँदैन’ भन्ने बजारमा चलेका हल्ला र दुबिधाहरू अब अन्त्य भएका छन् ।
सरकार निजी क्षेत्रको समस्या समाधान गर्न र उनीहरूलाई दरिलो साथ दिन तयार रहेको उनले बताए । निर्वाचनलाई सफल बनाउन सरकारको मात्र नभई सबै पक्षको सामूहिक पहल र सहयोग जरुरी रहेको उनको भनाई छ।
मन्त्री खरेलले उद्योग, व्यापार, र निजी क्षेत्रको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै यसलाई सबैले साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए ।