नेपालको सार्वजनिक ऋण पौने २८ खर्ब नाघ्यो; जीडीपीको ४५.६६ प्रतिशत

काठमाडौँ । नेपाल सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मङ्सिर मसान्तसम्मको प्रतिवेदनअनुसार देशको ऋण भारमा लगातार वृद्धि भइरहेको देखिएको हो ।

ऋणको संरचना:

आन्तरिक र बाह्य कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा १३ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । पछिल्लो पाँच महिनामा मात्रै सार्वजनिक ऋणमा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको छ । गत असार मसान्तसम्म कुल ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात र ऋण परिचालन हालको कुल सार्वजनिक ऋण नेपालको जीडीपीको ४५.६६ प्रतिशत पुगेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा मङ्सिरसम्म १ खर्ब ७८ अर्ब १२ करोड रुपैयाँ प्राप्त गरिसकेको छ। यो वार्षिक लक्ष्यको २९.४० प्रतिशत हो ।

साँवा र ब्याज भुक्तानीको अवस्था चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले ऋण प्राप्तिको तुलनामा भुक्तानीमा पनि ठूलो रकम खर्चिएको छ ।

प्रतिवेदनअनुसार:-

कुल ऋण प्राप्ति: १ खर्ब ७८ अर्ब १२ करोड रुपैयाँ

कुल ऋण भुक्तानी: १ खर्ब ६७ अर्ब १ करोड रुपैयाँ

साँवा भुक्तानी: १ खर्ब ३८ अर्ब ३० करोड रुपैयाँ

ब्याज भुक्तानी: २८ अर्ब ७० करोड रुपैयाँ

राजस्व संकलनको तुलनामा ऋणको साँवा र ब्याज भुक्तानीको दायित्व बढ्दै जाँदा राज्यको अर्थतन्त्रमा चाप थपिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै