निजी क्षेत्रको मनोबल नउठेसम्म आर्थिक गतिविधि चलायमान हुन कठिन: अध्यक्ष ढकाल

नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल बढाउनु र विश्वास पुनः स्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताएका छन् ।

नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता र असुरक्षाका कारण आर्थिक क्षेत्र सुस्त बनेको उल्लेख गर्नुभयो। “निजी क्षेत्रको मनोबल नउठेसम्म आर्थिक गतिविधि चलायमान हुन कठिन छ,” उनले भने ।

निजी क्षेत्रमाथिको प्रहारप्रति चिन्ता हरेक राजनीतिक आन्दोलनमा निजी क्षेत्र तारो बन्ने गरेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले भन्नुभयो, “देशमा सबैभन्दा बढी रोजगारी र राजस्वमा योगदान दिने निजी क्षेत्र नै हो। तर, प्रदर्शनका नाममा उद्योग र व्यवसायीका शयनकक्षसम्म आगो लगाउने र लुटपाट गर्ने कार्यले लगानीको वातावरण ध्वस्त बनाउँछ।”

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घुसपैठ, आगजनी र अर्बौँको क्षतिको स्मरण गर्दै उहाँले यस्ता घटनामा संलग्नलाई दण्डहीनताको प्रश्रय दिन नहुनेमा जोड दिए ।

१० अर्बको पुँजीमार्फत पूर्वाधार विकास अध्यक्ष ढकालले वैदेशिक लगानीको मात्र मुख नताकी स्वदेशमै छरिएर रहेको पुँजी एकत्रित गर्न महासंघको पहलमा ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको जानकारी दिनुभयो। १० अर्ब रुपैयाँ पुँजी रहेको यस कम्पनीले ठूला पूर्वाधार र उद्यमशीलताको विकासमा लगानी गर्ने उनको भनाइ थियो ।

सो क्रममा उहाँले नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि पनि सहकार्य गर्न सकिने धारणा राख्नुभयो। महासंघको पहलमा धेरै नीतिगत सुधार भइरहेको उल्लेख गर्दै उहाँले नेपालमै अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै